नारायणगढ–बुटवल सडक खण्डको काममा तीव्र गतिमा

काठमाडौँ - चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्डको काममा तीव्रता दिइएको छ । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा धमाधम कालोपत्र भइरहेको छ । गैँडाकोटको भेडाबारी क्षेत्रमा गरिएको परीक्षण सफल भएपछि कावासोती क्षेत्रमा हाल कालोपत्रको काम भइरहेको हो ।

सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जीनियरिङ कर्पोरेशन लिमिटेडका ठेक्का व्यवस्थापक राजेश झाले हालसम्म तीन किलोमिटरभन्दा बढी सडक कालोपत्र गरिएको जानकारी दिए ।
‘हामीले यस वर्ष २० किलोमिटरभन्दा बढी कालोपत्र गर्ने योजनाका साथ काम गरिरहेका छौँ,’ उनले भने, ‘गैँडाकोटको भेडाबारीबाट झराही खोला, रजहरमा दुई किलोमिटर क्षेत्र तथा देवचुलीको लोकाहाबाट कावासोतीको डण्डासम्म कालोपत्र गर्ने गरी काम भइरहेको क्षेत्रबाहेक थप पाँच किलोमिटर सडक कालोपत्रको तयारी छ ।


 डण्डास्थित अक्सपाल्ट प्लान्टबाट उत्पादित सामग्री लगेर कालोपत्रको काम भइरहेको र चालु आर्थिक वर्षभित्र ५० प्रतिशत काम सक्ने लक्ष्य रहेको भए पनि वर्षातलगायत कारण काममा ढिला हुनसक्ने ठेक्का व्यवस्थापक झाले बताए ।

सडक विस्तारका लागि माटो फिलिङ गर्ने, बिजुलीको पोल सार्ने काम सँगसँगै भइरहेको छ । सडक विस्तारका लागि आवश्यक पर्ने माटो, ढुङ्गा, गिट्टीलगायत कच्चा पदार्थको समस्या छैन । माटो तथा ढुङ्गा, गिट्टीका लागि स्थानीय तहले सहयोग गरेका छन् ।