काठमाडौँ - निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध मंगलबार उजुरी दिने समय तोकेको छ ।
निर्वाचन कार्यतालिका अनुसार सोमबार उम्मेदवारी दिएका उम्मेदवार विरुद्ध उजुरी दिनका लागि आयोगले मंगलबारका लागि समय तोकिदिएको हो ।
तनहुँ–१, बारा–२ र चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता भएको थियो । सोमबार तनहुँ–१ मा ९ जना, चितवन–२ मा २४ जना र बारा–२ मा ३६ जना गरेर कुल ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ती उम्मेदवारविरुद्ध उजुरी परेमा बुधबार छानबिन गरी बुधबार नै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ ।