प्रमुख प्रतिपक्षी दलले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारी भोलि टुङ्गो लगाउने

काठमाडौं - सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहितका दलले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारी भोलिसम्ममा टुङ्गो लगाउने भएका छन् ।

सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज बिहान बसेको कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेतासम्मिलित बैठकले उम्मेदवारी आइतबार टुङ्गो लगाउने निर्णय गरेको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सङ्घीय संसद्मा भएका विपक्षी दलका नेताको बैठकमा राष्ट्रियसभाको उपाध्यक्षको उम्मेवारीका सम्बन्धमा केन्द्रित रही सल्लाह र छलफल भएको बताए।