आर्यन र प्रमिला बने सर्वोत्कृष्ट नायक–नायिका, भुवनलाई दीर्घसाधना सम्मान

 काठमाडौँ - पहिलो चलचित्र आमाकी अभिनेत्री भुवन चन्दलाई दीर्घसाधना सम्मान प्रदान गर्दै पाँचौं पिम नेपाल फिल्म फेष्टिवल सम्पन्न भएको छ । साँस्कृतिक संस्थानमा तीन दिन सम्म चलेको फेष्टिवलको समापन समारोहमा विभिन्न विधाका उत्कृष्ट चलचित्र, कलाकार तथा प्राबिधिकहरूलाई आर्ड प्रदान गरिएको हो ।

जहाँ आर्यन सिग्देल र प्रमिला कार्कीले उत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्ड प्राप्त गरेका छन् । फेष्टिवलमा सिग्देलले चलचित्र डिडेम्बर फल्स र कार्कीले चलचित्र बगानबाट उक्त अवार्ड प्राप्त गरेका हुन् । यस्तै, चलचित्र लाखेबाट सम्राट बस्नेतले उत्कृष्ट फिचर फिल्म निर्देशकको अवार्ड प्राप्त गरे भने सर्वोत्कृष्ट फिचर फिल्मको अवार्ड चलचित्र प्रकाशबाट निर्देशक दिनेश राउतले प्राप्त गरेका छन् ।

चलचित्र प्रकाशबाटै सर्वोत्कृष्ट फिचर फिल्म लेखकको अवार्ड बिकास सुबेदीले प्राप्त गरे भने सर्वोत्कृष्ट भिएफएक्स आर्टिष्टको अवार्ड समिर मियाले प्राप्त गरे । समारोहमा फिचर फिल्म तर्फको जुरी अवार्ड चलचित्र नम्बरी सुनले पायो भने, फिचर फिल्म निर्देशक तर्फको जुरी अवार्ड चलचित्र डेशानबाट कमल एक्चै मगर र वेष्ट एक्टर जुरी अवार्ड चलचित्र लाखेबाट रोहित रुम्बाले प्राप्त गरेका छन् ।