images

सेयर बजार बढ्यो, ४ अर्ब ३१ करोडको कारोबार

काठमाडौं । सरकारले बजेट ल्याएपछि लगातार घटेको सेयर बजार साताको पहिलो दिन बढेको छ । आइतबार नेप्से परिसूचक १३.५१ अंकको बढोत्तरीसँगै २०८३.०४ विन्दुमा रह्यो ।
९६ लाख ९७ हजार २०६ कित्ता सेयर ४ अर्ब ३१ करोड १० लाख रुपैयाँमा किनबेच भएको छ । यसअघि अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक  गरेयता ओह्रालो लागेको सेयर बजार साताको अन्तिम कारोबार दिन दोहोरो अंकले घटेको थियो । बिहीबार नेप्से परिसूचक १९.८९ अंकले घट्दै २०६९.५३ मा रहँदा ९८ लाख ६४ हजार ४८२ कित्ता सेयर ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँमा किनबेच भएको थियो । 
आइतबार १३ मध्ये लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्डबाहेक सबै उपसमूह बढेका छन् । फाइनान्स उपसमूह सर्वाधिक २.१७ प्रतिशतले बढेको छ । घट्नेमा उत्पादन तथा प्रशोधन उपसमूहमा २.४० प्रतिशतको गिरावट छ । 
१७४ कम्पनीको सेयरमूल्य बढ्दा मन्टीपर्पोज फाइनान्स र मकर जितुमाया सुरी हाइड्रोपावरका लगानीकर्ता बढी फाइदामा छन् । दुवै कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । कालिञ्चोक दर्शन, अपर सोलु हाइड्रोको सेयरमूल्य पनि बढेको छ ।   
सर्वाधिक कारोबार हुनेमा नेपाल फाइनान्स छ । उक्त कम्पनीको २२ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै पोखरा फाइनान्सको १८ करोड ७० लाख, फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको १४ करोड ७ लाख, अपर लोहोरेखोला हाइड्रोपावरको १२ करोड ४४ लाख र एनआरएन इन्फ्रस्ट्रक्चरको १० करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 
६१ कम्पनीको सेयरमूल्य घट्दा नारायणी विकास बैंकका लगानीकर्ता बढी नोक्सानमा छन् । उक्त बैंकको सेयरमूल्य ९.१३ प्रतिशतले घटेको छ । युनिलिभर नेपाल, पोखरा फाइनान्सलगायतको पनि सेयरमूल्य घटेको छ । १२ कम्पनीको सेयरमूल्यमा भने कुनै परिवर्तन भएन । 
 

आइतबार​ १९ जेठ २०८१ ०६:४२ PM मा प्रकाशित

प्रतिक्रिया