images

चीनमा आईटी पढ्न चाहनेलाई छात्रवृत्ति दिंदै ह्वावे, यसरी दिनुहोस् आवेदन

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले सूचना तथा प्रविधि क्षेत्रका नेपाली विद्यार्थीलाई थप ज्ञान आर्जन र सीप विकास गर्नका लागि छात्रवृत्ति दिने भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको हो । छात्रवृत्तिका लागि स्नातक तहका विद्यार्थीहरूले आवेदन दिन सक्नेछन् । आवेदनपछि छनोट भएका विद्यार्थीलाई ह्वावेले चीनको भ्रमण गराउनेछ । त्यहाँ विद्यार्थीले नवीनतम प्रविधिबारे जान्ने अवसर पाउने कम्पनीले जनाएको छ ।  

यसका लागि कम्पनीले शुक्रबारदेखि नै आवेदन खुलाइसकेको छ । विद्यार्थीले ९ जुन अर्थात् आगामी आइतबारसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिनका लागि सबैभन्दा पहिला यहाँ क्लिक गर्नुहोस् । त्यसपछि आफ्नो नाम, ईमेल, फोन नम्बर, कलेज, सङ्काय र अध्ययन गर्न थालेको वर्ष भर्नुपर्ने हुन्छ । त्यसपछि ‘सिड्स फर दि फ्युचर’ कार्यक्रममा सहभागी भएर के पाउने अपेक्षा गर्नुभएको छ भन्ने उल्लेख गर्नुपर्छ । यदि उक्त जवाफ एआईको सहायताले तयार पारेको भेटिए आवेदन स्वतः रद्द हुनेछ । त्यसबाहेक तपाईं उक्त कार्यक्रममा सहभागी हुँदा तपाईंलाई कसरी फाइदा हुन्छ, तपाईं संलग्न भएको आईसीटी प्रोजेक्टको अनुभव, यो कार्यक्रमबाट आर्जन गरेको ज्ञान, सीप र अनुभव कसरी सदुपयोग गर्नुहुन्छ लगायतका विषयमा १५० शब्दसम्म आफ्नो विचार राख्नुपर्ने हुन्छ ।  अन्तिममा आफ्नो सीभी राखेर सब्मिट गर्नुपर्ने हुन्छ । आवेदन दिने विद्यार्थीलाई छनोट गर्न ह्वावेले नेपाल सरकार, स्थानीय शैक्षिक संस्था र उद्योग विशेषज्ञहरू सम्मिलित एक जुरी बोर्ड गठन गरेको छ । यो दुई महिनाको अवधिमा छात्रवृत्तिको लागि अन्तर्वार्ता, कार्य र प्रस्तुतीकरणका चरणहरू अगाडि बढ्ने बताइएको छ ।

 

आइतबार​ १९ जेठ २०८१ ०९:११ PM मा प्रकाशित

प्रतिक्रिया