इरानमा सन् २०१५ यताकै सबैभन्दा बढी मृत्युदण्ड

पेरिस - इरानले यस वर्ष ३०० भन्दाबढी व्यक्तिलाई मृत्युदण्ड दिएको छ । मे महिनामा यो सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि यो बर्ष मृत्युदण्डको सजाय पाउनेको सङ्ख्या सन् २०१५ यताकै सबैभन्दा उच्च एक अधिकारवादी समूहले बिहीबार जनाएको छ ।

नर्वेस्थित इरान मानवअधिकार आईएचआरका अनुसार सन् २०२३ मा कम्तीमा ३०७ जनालाई मृत्युदण्ड दिइएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ७५ प्रतिशतले बढी हो । मे महिनामा कम्तीमा १४२ जनालाई मृत्युदण्ड दिइएको थियो । यो सन् २०१५ यताकै सबैभन्दा उच्च मासिक आँकडा हो । इस्लामिक गणतन्त्र इरानमा गत महिना हरेक दिन औसतमा चार जनाभन्दा बढीलाई फाँसी दिइएको थियो ।