पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल

काठमाडौँ - पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल भएको छ । विमानस्थलमा बुधबार राति सौर्य एयरलाइन्सको जहाज काठमाडौैदेखि पोखरा अवतरण गरेको हो । उक्त जहाज राति ८ बजेर ४५ मिनेट पोखरा विमानस्थलमा अवतरण भएको हो ।

पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार काठमाडौंदेखि ३३ जना यात्रु लिएर आएको जहाज पोखराबाट ४६ यात्रु लिएर फर्केको हो । सौर्य चढेर पोखरा उत्रिएका यात्रु मोहन भण्डारीले सफल अवतरण गरेको भन्दै फेसबुकमा व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘‘‘खराब मौसमका कारण ढिलाइ भए पनि सौर्य एयरलाइन्सले पोखरा विमानस्थलमा पहिलो आइएफआर उडान सफलतापूर्वक सम्पन्न गरेको छ । सौर्य एयरलाइन्सको समर्पित टोलीले कडा मिहिनेत गरेर यो सम्भव बनायो । यस ऐतिहासिक क्षणको एक हिस्सा हुन पाउँदा रोमाञ्चित छु ।’’