अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट, जित्यो स्वर्ण, रजत र सिल्भर अवार्ड

काठमाडौँ - अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट रहेको भन्दै नेपाली चियाले स्वर्ण, रजत र सिल्भर अवार्ड जितेको छ । चीनको चीन चिया मार्केटिङ सङ्घले आयोजना गरेको दोस्रो विश्व कालो चिया गुणस्तर परीक्षण मूल्याङ्कन प्रतिस्पर्धामा नेपाली १० उत्पादक संस्थाले अवार्ड जितेका राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बिहीवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । बोर्डले नेपालमा उत्पादित १६ वटा चियाको नमुना परीक्षणमा पठाएकोमा १० प्रकारका चियाले विश्व गुणस्तरमा उच्च रहेको प्रमाणित भएको बताएको छ ।

बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले नेपालको चियाको चिनियाँ बजार राम्रो रहेको बताए । उनले बोर्डले नेपालमा उत्पादित चियाको बजार व्यवस्थापनका लागि पहल गरिरहेको बताए । उनले चीनमा नेपाली चियाको अनलाइन विज्ञापन सुरु भइसकेको बताए । भट्टराईले अवार्ड विजेता भएसँगै नेपाली चिया अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जाको रहेको र आर्थिक उन्नतिका लागि महत्त्वपूर्ण मानिने उल्लेख गरे । उनले गएको वर्षको तुलनामा नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा निर्यात ३६ प्रतिशतले बढेको जानकारी दिए । उनले नेपाली चियाको निर्यात वृद्धिले नेपाली चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको बताए ।

त्यस्तै पर्ल गोल्डेन चियाका सञ्चालक रितुकान्त खनालले रासायनिक मल तथा विषादी प्रयोगविना अर्ग्यानिक रूपमा चिया उत्पादन गर्नुको प्रतिफल गोल्डेन अवार्ड भएको बताए । उनले आफूहरूले किसानको आयमा वृद्धि गरी देशमा विदेशी मुद्रा आर्जनका लागि महत्त्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने गरी चिया उत्पादनमा लागेको बताए । नेपाली चिया उत्पादनलाई सरकारले उद्योगको रूपमा विकास गर्ने गरी नीति नियमन बनाउनुपर्नेमा उनले जोड दिए ।

विश्वका प्रमुख चिया उत्पादक राष्ट्रहरू चीन, भारत, केन्या, श्रीलङ्काजस्ता देशहरूसँग नेपाली चियाको प्रतिस्पर्धा गराइएको थियो । अवार्ड परिणामस्वरूप आउँदा दिनमा अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको निर्यात व्यापार बढाउन सहज हुने विश्वास लिइएको छ । तीनजुरे चिया कृषक सहकारी संस्थाद्वारा उत्पादित पर्ल गोल्डेन चियाले गोल्डेन अवार्ड पाएको छ भने फार्मर चिया प्रशोधन उद्योगले उत्पादन गरेको एफ्टी हिमालयन गोल्डेन, साग्रिला गोल्डेन, जीटीई–गोल्डेन चिया, सिल्भर वीङ्गस, गोल्डेन टिप्स चियाले गोल्डेन मेडल अवार्ड पाएका हुन् । त्यस्तै नेपालका झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लालाई चिया क्षेत्रको रूपमा २०३९ सालमा तत्कालीन राजा वीरेन्द्रले घोषणा गरेका थिए ।