विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ऋण र दुई अर्ब अनुदान सहयोग

काठमाडौँ - नेपाल सरकार र विश्व बैंकबीच रू १५ अर्ब ८४ करोड अमेरिकी डलर १२ करोड बराबर सहुलियतपूर्ण ऋण र रू दुई अर्ब ६० करोड अमेरिकी डलर एक करोड ९७ लाख बराबर अनुदान प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थसचिव अर्जुनप्रसाद पोखरेल र विश्व बैंकका लागि माल्दिभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक फारिस हदाद जर्भोसले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

विश्व बैंकअन्तर्गतको इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन आइडिए ले ‘ग्लोबल पार्टनरशिप फर एजुकेसन’ कार्यक्रममार्फत नेपालका सरकारी विद्यालयको पाठ्यक्रम विकास, पूर्वाधार निर्माण र सिकाइ गुणस्तर सुधारका लागि यस्तो ऋण र अनुदान दिएको हो । नेपालमा लागू भइरहेको विद्यालय क्षेत्र सुधार कार्यक्रम स्कुल सेक्टर ट्रान्सफरमेसन प्रोग्राम मार्फत यो रकम खर्च हुनेछ ।